कास्कीका एसपीको ड्रेस लगाएर आन्दोलनमा रमिता देखाउने पक्राउ

voiceofgandaki

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार पोखरामा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको अवलोकन गरेका छन्। अवलोकनकै क्रममा प्रहरीले कास्कीका एसपीको ड्रेस लगाएर आन्दोलनमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको जानकारी गराएको छ।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश सभा सचिवालयलगायत जलेका र क्षतिग्रस्त सरकारी संरचनाको प्रत्यक्ष निरीक्षण गरे। उनले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीलाई ‘विध्वंसकारी गतिविधि’ भन्दै यसलाई कतैबाट पनि आन्दोलन भन्न नमिल्ने टिप्पणी गरे।

अवलोकनका क्रममा कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले मुख्यमन्त्रीलाई हालको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरे। उनका अनुसार भदौ २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट १२५ जना थुनुवा फरार भएका थिए, जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए।

यसअघि प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले एक आन्दोलनकारीलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिले एसपी ओलियाकै पोशाक लगाएको पाइएको र उनको विस्तृत परिचय भने सार्वजनिक नभएको एसपी ओलियाले जानकारी दिए।

ओलियाका अनुसार हाल कास्की प्रहरीको हिरासतमा भदौ २३ गतेपछिका मापसेमा पक्राउ परेका लगायत कैदीबन्दी रहेका छन्। बाँकी फरार आन्दोलनकारीलाई भने प्रहरी कार्यालय मर्मतपछि मात्रै पक्राउ गर्ने कार्य अघि बढाइने उनको भनाइ छ।

प्रतिक्रिया