पोखरा । यस वर्षको युवा वर्ष मोती पुरस्कार पोखरामा रहेर साहित्य सिर्जना गरिरहेका शंकरमणि त्रिपाठी ‘छन्दमणि’लाई प्रदान गरिने भएको छ। राष्ट्रिय युवा सेवा कोषले २०८२ सालको पुरस्कारका लागि त्रिपाठीलाई चयन गरेको हो।
कोषका सदस्यसचिव डा. विष्णुबहादुर भण्डारीका अनुसार, प्रा.डा. माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्यांकन समितिले त्रिपाठीको नाम पुरस्कारका लागि सिफारिस गरेको थियो।
पोखरा-२५, हेमजामा पिता कमलमणि त्रिपाठी र माता लक्ष्मी त्रिपाठीका सुपुत्रका रूपमा जन्मिएका छन्दमणि साहित्य क्षेत्रमा एक परिचित नाम हो। हेमजा साहित्य प्रतिष्ठान नेपालका पूर्व अध्यक्षसमेत रहेका उनी हाल ज्ञानसागर एकेडेमीका प्राचार्यका रूपमा कार्यरत छन्।
वि.सं. २०५३ सालबाट लेखन यात्रा सुरु गरेका त्रिपाठीका हालसम्म ‘नयाँ नेपाल’ महाकाव्य, ‘छन्द बहरका शब्दलहर’ शास्त्रीय गजलसङ्ग्रह तथा ‘तरङ्गका अभिव्यक्ति’ र ‘देशको अनुसूची’ नामक दुई कवितासङ्ग्रह प्रकाशित छन्। उनका सिर्जनामा जीवनको यथार्थ, समकालीन चेतना र सामाजिक दायित्वबोधका स्वरहरू पाइन्छन्।
साहित्य सिर्जनाका अतिरिक्त उनले ‘शान्तिदीप’ त्रैमासिक र ‘हिमशिखर’ वार्षिकजस्ता विभिन्न प्रकाशनका साथै अभिनन्दन ग्रन्थ तथा स्मारिकाहरूको सम्पादनसमेत गरेका छन्।
पुरस्कार प्रदान गर्ने संस्था राष्ट्रिय युवा सेवा कोष वि.सं. २०४२ मा स्थापना भएको हो। कोषले हरेक वर्ष नेपाली साहित्य र संस्कृतिमा योगदान पुर्याउने युवा प्रतिभालाई यो पुरस्कार प्रदान गर्दै आएको छ।