गृहमन्त्री र आईजीपीलाई मृतक प्रहरी पत्नीको आग्रह : 'सानो छोरा र बूढा ससुरा छन्, जीवन धान्न जागिर चाहियो'

voiceofgandaki

पोखरा । कास्कीको रुपा गाउँपालिका–५ रामदीकी कान्ति गुरुङको आँखामा अझै पनि त्यो कालो रातको पीडा झल्किन्छ, जतिबेला उनले आफ्नो जीवनसाथी सधैँका लागि गुमाएकी थिइन् । काठमाडौंको कोटेश्वरमा गत भदौ २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा उनका श्रीमान् प्रहरी सहायक हवल्दार अमृत गुरुङले वीरगति प्राप्त गरेका थिए ।

आइतबार आफ्नै घरको आँगनमा सरकारका प्रतिनिधिलाई पाउँदा कान्तिले मनको पीडा पोखिनन् मात्र, जीवन धान्ने आधार पनि मागिन् । समवेदना दिन कास्कीस्थित घरमै पुगेका गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसमक्ष उनले आफ्नो भविष्य र परिवारको गुजाराका लागि रोजगारीको याचना गरिन् ।

स्नातक तहमा मेजर अंग्रेजी विषय लिएर उत्तीर्ण गरेकी कान्तिले भनिन्, ‘घरमा २ वर्षको सानो छोरा छ, बूढा ससुरा हुनुहुन्छ । सबै दायित्व मेरो काँधमा छ । पेन्सनले मात्र जीवन धान्न गाह्रो हुन्छ । मलाई जहाँ भए पनि योग्यताअनुसारको जागिर मिलाइदिनुपर्‍यो ।’

कान्तिको पीडा र सरकारको आश्वासन
भेटका क्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले पनि कान्तिको मागलाई बलियो साथ दिइन् । ‘उहाँ (कान्ति) पढेलेखेकी हुनुहुन्छ, योग्य हुनुहुन्छ । परिवारको लालनपालनका लागि सरकारले स्थायी जागिरको प्रबन्ध गर्नुपर्छ,’ उपाध्यक्ष गुरुङले भनिन्, ‘बिहानै मलाई भेटेर उहाँले जागिरका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो । त्यसैले मैले मन्त्रीज्यू र आईजीपी साबलाई यो कुरा राखेकी हुँ ।’

जवाफमा गृहमन्त्री अर्यालले अमृतको योगदानलाई राज्यले कहिल्यै नबिर्सने प्रतिबद्धता जनाए । ‘अमृतले राष्ट्र र समाजप्रति देखाएको समर्पण र वीरताका लागि राज्य सधैं परिवारको साथमा छ,’ मन्त्री अर्यालले भने, ‘परिवारको आवश्यकता अनुसार शैक्षिक योग्यताको आधारमा रोजगारीको व्यवस्था गर्न मन्त्रालयले पहल गर्नेछ ।’

प्रहरी महानिरीक्षक कार्कीले पनि प्रशासनमार्फत करार वा अन्य प्रक्रियाबाट रोजगारी उपलब्ध गराउन सकिने आश्वासन दिए । ‘प्रशासनले करारमार्फत पनि जागिरको व्यवस्था गर्न सक्छ । नेपाल सरकारबाट उपलब्ध गराइने सहयोग रकम (टोकन) चाँडै प्रदान गरिनेछ,’ आईजीपी कार्कीले भने, ‘अमृतको मृत्युमा प्रहरी विभाग पूर्ण रूपमा सजग र जिम्मेवार छ ।’

त्यागको त्यो अन्तिम दिन
विसं २०५२ पुस १० गते जन्मिएका अमृत २०७० असोज १५ गते नेपाल प्रहरीमा भर्ना भएका थिए । भदौ २४ गतेको त्यो दिन अमृतका लागि अन्तिम ड्युटी बन्यो । शरीर रुघाखोकीले थलिएको थियो, तर कर्तव्यबोधले उनलाई विश्राम लिन दिएन । कोटेश्वर प्रहरी प्रभागमा कार्यरत उनी ‘जेनजी’ आन्दोलनको हिंसात्मक भीडलाई नियन्त्रण गर्ने क्रममा खटिएका थिए ।

आन्दोलनकारीले हातहतियार खोसेर प्रहरीमाथि नै प्रहार गरे । कार्यालयमा आगजनी र कुटपिटका बीच अमृतको सम्पर्क टुट्यो । यता पोखराको रामदीमा कान्तिले रातभर श्रीमान्को फोन कुरिरहिन्, तर त्यो प्रतीक्षा कहिल्यै पूरा भएन । अन्ततः उनले देशका लागि प्राण त्याग गरे ।

राज्यको सम्मान र सुविधा
नेपाल प्रहरीले आफ्नो वीर सिपाहीलाई उच्च सम्मानका साथ बिदाई गरेको छ । अमृतलाई मरणोपरान्त एक तह बढुवा (प्रहरी सहायक हवल्दार) दिइएको छ । नियमावलीअनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराइएको छ । साथै, सन्ततिलाई कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति र श्रीमतीलाई आजीवन निवृत्तिभरण (पेन्सन) को सुविधा प्रदान गरिने व्यवस्था छ ।

समवेदना दिन पुगेको उच्चस्तरीय टोलीमा गृहमन्त्री अर्याल र आईजीपी कार्कीसहित गृहसचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, मन्त्रालयका सहप्रवक्ता उपसचिव रविन्द्र आचार्य र कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहभागी थिए । टोलीले अमृतलाई ‘वीर सपुत’ को संज्ञा दिँदै परिवारलाई गर्व गर्न आग्रह गरेको थियो ।

आईजीपी कार्कीले मृतकका परिवारलाई भने, ‘भोली नै जिल्ला प्रशासन कार्यालयमा प्रमाणपत्र पेश गर्नुहोला, हामी प्रक्रिया अघि बढाउँछौं ।’ यो आश्वासनले कान्तिको मुहारमा थोरै भए पनि आशाको किरण जगाएको छ ।

प्रतिक्रिया