पोखरा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को चौथो महाधिवेशन र नवौं स्थापना दिवस पोखरामा सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनसहित सम्पन्न अधिवेशनले विश्वभर छरिएका कस्केलीहरूबीचको सामाजिक एकता र आत्मीयताको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ ।
महाधिवेशनले हंशराज ढकाल क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । परिषद्को नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष युबराज अधिकारी (जर्मनी), प्रथम उपाध्यक्ष अमर सापकोटा (साउदी अरब), द्वितीय उपाध्यक्ष नेत्र केसी (अमेरिका), तृतीय उपाध्यक्ष मनबहादुर कुँवर (नेपाल) र महिला उपाध्यक्ष प्रमिला बराल (नेपाल) रहेका छन् । महासचिवमा प्रभात त्रिपाठी (कतार), उपमहासचिवमा भगवान गिरी (बेल्जियम), महिला सचिवमा सरस्वती सिग्देल (नेपाल), सचिवमा श्रीराम पोखरेल (क्यानडा), कोषाध्यक्षमा विश्वज्योति सुवेदी (नेपाल), महिला संयोजकमा पवित्रा उपाध्याय खड्का, युवा संयोजकमा पूर्णबहादुर खड्का (संयुक्त अरब इमिरेट्स), आइसीसीमा प्रितम त्रिपाठी (क्यानडा) र आइसीसी सदस्यमा विष्णुप्रसाद सुवेदी (कतार) तथा तोरणबहादुर क्षत्री (नेपाल) रहेका छन् ।
निर्वाचन समितिका संयोजक गोपीकृष्ण काफ्लेले नव–निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका थिए । नयाँ नेतृत्वले सामाजिक एकता, जन्मथलोप्रतिको प्रेम र विश्वभर रहेका कस्केलीबीच सशक्त सम्बन्ध कायम राख्ने संकल्प व्यक्त गरेको छ ।
‘विश्वका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ भन्ने नारासहित सन् २०१७ मा स्थापित कास्की आदर्श समाजले विगत आठ वर्षमा विश्वभरका कस्केलीहरूलाई एउटै मञ्चमा ल्याउँदै आएको छ । यही भावनाले महेन्द्रपुलस्थित रोयल साकुरा रेस्टुरेन्ट एण्ड बारको सभाहललाई असोज २३ मा उत्सवमय बनायो । झण्डा, फूलफूल र दीपले सजिएको हलमा करिब १२० सहभागी प्रत्यक्ष रूपमा उपस्थित थिए भने ४० जना भन्दा बढी सदस्यहरूले भर्चुअल रूपमा सहभागिता जनाए ।
कतार, साउदी, अमेरिका, बेल्जियम, क्यानडा, जर्मनी लगायतका देशमा रहेका कस्केलीहरूको सहभागिताले महाधिवेशनलाई अन्तर्राष्ट्रिय स्वरूप दिएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि थिए । उनले उद्घाटन गर्दै भने, ‘कस्केलीहरू साँच्चै आदर्शका पर्याय हुन् । समाजमा एकताको बाटोमा अघि बढ्ने प्रयासले मात्र हाम्रो जन्मथलोको पहिचान विश्वभर उज्यालो हुनेछ ।’
विशेष अतिथि गोपीकृष्ण काफ्लेले आफ्नो जन्मथलोमा प्रत्यक्ष रूपमा अधिवेशनमा सहभागी हुन पाउँदा खुशी व्यक्त गरे । उनले भने, ‘यो मेरो लागि केवल कार्यक्रम होइन, आफ्नै मातृभूमिसँगको आत्मीय सम्बन्धको अनुभूति हो । विदेशमा रहे पनि मेरो मन सधैं कास्कीमै रहन्छ ।’
कार्यक्रम राष्ट्रिय गानबाट सुरु भएको थियो । प्रारम्भमा ज्ञात–अज्ञात सहिदहरूप्रति मौन श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कास्की आदर्श समाज नेपालका उपाध्यक्ष शिवराज अधिकारीले स्वागत मन्तव्य दिँदै समाजको इतिहास, उपलब्धि र भविष्यका योजनाबारे जानकारी दिए ।
महाधिवेशनको दोस्रो सत्रमा विधानका विभिन्न बुँदामा संशोधन गरिएको थियो । यस सत्रमा सहभागीहरूले आगामी वर्षहरूमा कास्कीको सामाजिक, शैक्षिक र सांस्कृतिक उत्थानका लागि ठोस योजना अघि सार्ने प्रतिबद्धता जनाए ।
कास्की आदर्श समाज केवल एउटा संस्था होइन, विश्वभरका कस्केलीहरूको साझा भावना हो । कतारमा पसिना बगाउने, अमेरिका र क्यानडामा कर्म गर्ने, बेल्जियममा अध्ययन गर्ने वा नेपालमै रहेर समाजका लागि योगदान दिने सबैका मनमा एउटै आवाज गुञ्जियो — ‘हाम्रो कास्की, हाम्रो गौरव, हाम्रो स्वाभिमान ।’
अन्त्यमा सहभागीहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै एकताको महत्व र सामूहिक प्रतिबद्धताको पुनः स्मरण गरे । आठ वर्षको यात्रालाई स्मरण गर्दै महाधिवेशनले देखायो कि सानो गाउँको माटोले पनि विश्वभर छरिएका आफ्ना सन्तानहरूलाई एउटै भावनामा बाँध्न सक्छ । कास्कीको माटो र यसको सांस्कृतिक पहिचानले यो संस्थालाई सधैं जीवित राख्ने विश्वास सहभागीहरूले व्यक्त गरे ।