काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक आन्दोलनको बलमा बनेको सरकारले युवा पुस्ताको भावना कदर गरेको भन्दै अबको जवाफ मतपत्रबाट दिन आग्रह गरेकी छन्। ‘जेन–जी’ आन्दोलनपछि गठन भएको सरकारको १०० दिन पुगेको अवसरमा शनिबार देशवासीका नाममा सम्बोधन गर्दै उनले आक्रोश र सपनालाई भोटमा बदल्न युवालाई अपिल गरेकी हुन्।
‘म विशेषगरी हाम्रा ‘जेन–जी’ युवालाई भन्न चाहन्छु, तपाइँहरूको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ। तपाइँको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ।’
गत २७ भदौमा बनेको सरकारले सडकमा देखिएको कम्पन र छटपटीलाई गम्भीरतापूर्वक लिएको उनले बताइन्। जीवन्त लोकतन्त्रले हरेक संकटको निकास हिंसाबाट नभई संवाद र जनमतबाट खोज्ने उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले भनिन्, ‘विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौँ।’
फागुन २१ को चुनाव टर्दैन
प्रधानमन्त्रीले आगामी २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा निर्वाचन कुनै पनि हालतमा नसर्ने स्पष्ट पारिन्। चुनाव सार्ने वा रोक्ने हल्ला निराधार रहेको भन्दै उनले सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन चट्टानझैँ दृढ रहेको बताइन्।
‘२०८२ फागुन २१ गते हुने निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो,’ उनले भनिन्। सरकारले निर्वाचनका लागि ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको र मतदाता नामावली ऐन संशोधन गरी ८ लाख ३७ हजार नयाँ युवाको मताधिकार ग्यारेन्टी गरेको उनले जानकारी दिइन्।
फजुल खर्चमा कैंची : ५०० सुरक्षाकर्मी फिर्ता
सरकारले १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रणमा निर्मम कदम चालेको प्रधानमन्त्रीले दाबी गरिन्। मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारीसाधन फिर्ता गरी जनताको सेवामा खटाइएको छ। यस्तै, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको उनले बताइन्।
सरकारले १ खर्ब १९ अर्ब रुपैयाँबराबरको बजेट पुनःप्राथमिकीकरण गरी विकासका ठूला आयोजनामा स्थानान्तरण गरेको छ। पदमा रहँदा र अवकाशपछि लिइने अनधिकृत सुविधासमेत कटौती गरिएको उनले जानकारी दिइन्।
हतियार बरामद र शान्ति सुरक्षा
आन्दोलनका क्रममा लुटिएका १ हजार ३४२ थान हतियारमध्ये अधिकांश बरामद भइसकेको र थप ३२ थान हतियार प्रहरीले नियन्त्रणमा लिएको प्रधानमन्त्रीले जानकारी दिइन्। क्षतिग्रस्त ४६५ वटा प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याई सुरक्षा व्यवस्था कडा पारिएको छ।
भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेलाई सहिद घोषणा गरी घाइतेको उपचार र जीविकाको व्यवस्था मिलाइएको उनले बताइन्। प्रधानमन्त्रीले भनिन्, ‘विगतमा शक्तिको आडमा दबिएका अपराध र भ्रष्टाचारका प्रकरणमा अहिले अनुसन्धान अघि बढेको छ। जतिसुकै शक्तिशाली भए पनि कानुनले उन्मुक्ति दिँदैन।’
उनले ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको, काठमाडौंमा मेलम्चीको पानी सुनिश्चित गरिएको र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत् थपिएको लगायतका उपलब्धिसमेत सार्वजनिक गरेकी छन्।
५ पुस २०८२, शनिवार ०६:०५ मा प्रकाशित