पोखराबाट लागुऔषधसहित स्याङ्जाका जितेन पक्राउ, होटलको कोठाबाट पनि बरामद

voiceofgandaki

पोखरा । कास्की प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–४ छब्बिस कुरियाबाट स्कुटरमा हिँडिरहेका स्याङ्जाका २६ वर्षीय जितेन गुरुङ पक्राउ परेका हुन्।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ४ पुसमा ग २० प ६७३९ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा गुरुङले भिरेको झोलाबाट लागुऔषध र नगद फेला पारेको थियो।

प्रहरीले उनको साथबाट ‘स्टागन–२५’ १९ ट्याब्लेट, ‘नाइट्राभेट–१०’ ५१ ट्याब्लेट तथा डाइजापाम, ब्रुफिनुर्फिन र फेनेरागन ३–३ एम्पुल बरामद गरेको छ। उनको साथबाट १४ हजार ७ सय रुपैयाँ नगद पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका गुरुङमाथि अनुसन्धान गर्ने क्रममा उनी बस्दै आएको होटलको कोठाबाट समेत ठूलो परिमाणमा लागुऔषध फेला परेको छ। ६ पुसमा प्रहरीले पोखरा–९ नागढुंगास्थित पर्वत स्याङ्जा दीपक होटलको कोठा नम्बर १९ मा खानतलासी गरेको थियो।

कोठामा लुकाइराखेको अवस्थामा डाइजापाम ९९ एम्पुल, फेनेरागन ९८ एम्पुल र ब्रुफिनुर्फिन ९७ एम्पुल गरी जम्मा २९४ एम्पुल लागुऔषध बरामद भएको डिएसपी बस्नेतले बताए।

स्याङ्जाको भीरकोट नगरपालिका–३ घर भई पोखरा बस्दै आएका गुरुङलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया