पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीद्वारा आयोजित माध्यमिक तहस्तरीय (कक्षा ९ र १०) नेपाली हिज्जे प्रतियोगितामा पोखराको न्याश्नल इन्भेन्टिभ माध्यमिक विद्यालय प्रथम भएको छ । शनिबार प्याब्सन कास्कीको सभाहलमा सम्पन्न प्रतियोगितामा अन्य ४२ विद्यालयलाई पछि पार्दै न्याश्नल इन्भेन्टिभले उपाधि जितेको हो ।
प्रतियोगितामा ग्लोबल कलिजियट माध्यमिक विद्यालय द्वितीय, डिज्नील्यान्ड एकेडेमी मासबार तृतीय र विद्या निकेतन सेकेन्डरी स्कुल बिरौटाले सान्त्वना (चतुर्थ) स्थान हासिल गरे । कास्की जिल्लाका ४३ विद्यालय सहभागी भएको प्रतियोगिता सुरुमा 'हिट राउन्ड' र पछि 'नकआउट' प्रणालीमा सञ्चालन भएको थियो । हिट राउन्डबाट छानिएका १९ विद्यालयले क्वाटर फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक भाष्करदत्त पन्तले व्यानर वाचन गरेर प्रतियोगिताको उद्घाटन गरे । उनले नेपाली भाषा राष्ट्र एकीकरणको बलियो माध्यम भएको बताउँदै सरकारले गर्नुपर्ने कतिपय काम परिषद्ले गरेर राष्ट्रप्रति ठुलो योगदान पुर्याएको भन्दै प्रशंसा गरे । 'भाषाको संरक्षण, प्रयोगमा एकरूपता र विकासमा परिषद्को योगदान प्रशंसनीय छ,' पन्तले भने ।
प्याब्सन कास्कीका अध्यक्षले भाषा संस्कृति संरक्षणको आधार भएको भन्दै सबल व्यक्तित्व निर्माणका लागि विद्यार्थीले भाषाको गहिरो ज्ञान सिक्नुपर्नेमा जोड दिए । परिषद्का वरिष्ठ उपाध्यक्ष विक्रम पौडेलले स्वागत मन्तव्य राख्दै भाषाको संरक्षण र समृद्धिमा परिषद्को भूमिकाबारे प्रष्ट पारेका थिए ।
प्रतियोगितामा शिवहरि सुवेदी, नारायण पराजुली, शशी 'शिशिर' ढुंगाना, हरिप्रसाद ढुंगाना, होमनाथ भट्टराई, पोष्टराज सुवेदी, भावना लामिछाने, अमृत पौडेल र झलक आचार्य निर्णायकको भूमिकामा रहेका थिए ।
परिषद्ले हरेक वर्ष विद्यार्थी र शिक्षक केन्द्रित कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको पठनपाठनमा एकरूपता र गुणस्तर बढाउने अभियान चलाउँदै आएको छ । कार्यक्रम परिषद्का अध्यक्ष सूर्यप्रसाद लम्सालको अध्यक्षता र महासचिव शिवहरि सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।