आगामी निर्वाचनका लागि मतदाता नामावली अध्यादेश जारी

voiceofgandaki

काठमाडौं ।   राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली ऐनसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने उद्देश्यले अध्यादेश जारी गर्नुभएको हो। यस अध्यादेशमार्फत आगामी निर्वाचन प्रक्रियामा मतदाता सूचीकृत गर्ने कार्यलाई सहज र अद्यावधिक बनाउन कानुनी आधार तयार भएको छ।

मतदाता नामावली अद्यावधिक गर्ने कार्य निर्वाचन आयोगको मूल जिम्मेवारी भए पनि कानुनी प्रावधान समयानुकूल परिमार्जन आवश्यक भएको भन्दै सरकारले अध्यादेशमार्फत कानुनी आधारलाई स्पष्ट बनाउन खोजेको हो। यसले निर्वाचनमा मतदाताको अधिकार सुनिश्चित गर्न र नामावलीमा हुने सम्भावित विवादलाई न्यूनिकरण गर्ने विश्वास गरिएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, स्वच्छ र व्यवस्थित बनाउन सरकारले आवश्यक कानुनी तयारीलाई तीव्रता दिइरहेको छ। अध्यादेश जारी भएपछि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकसम्बन्धी प्रावधान अनुसार आफ्नो कार्य अघि बढाउने छ।


प्रतिक्रिया