परिमार्जित योग्यतासहित गण्डकी विश्वविद्यालयमा उपकुलपति खुल्यो

voiceofgandaki

पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो ।

समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त खुलाएको छ । इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

के छ नयाँ योग्यता ?

यसपटक उपकुलपतिको योग्यतामा केही परिमार्जन गरिएको छ । हालै गण्डकी प्रदेश सभाबाट पारित संशोधित ऐन र नयाँ कार्यविधिअनुसार उपकुलपति बन्नका लागि विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेको हुनुपर्नेछ ।

यस्तै, शैक्षिक, प्राज्ञिक, प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा ८ वर्ष काम गरेको अनुभव हुनुपर्ने नयाँ मापदण्ड तोकिएको छ । उमेरको हकमा ४० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि अनुभव र उमेरको मापदण्डमा अस्पष्टता र विवाद रहेकामा संशोधित ऐनले यसलाई स्पष्ट पारेको हो ।

आवेदन प्रक्रिया

आवेदकले पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित विश्वविद्यालयको उपकुलपति सिफारिस समितिको सचिवालयमा कार्यालय समय (बिहान १० देखि ४ बजे) भित्र दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट बुझाउन सकिनेछ ।

आवेदनका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले एनएमबि बैंकको अमरसिंह चोक शाखामा रहेको ‘गण्डकी युनिभर्सिटी आया खाता’ मा रकम जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ । छनोट प्रक्रिया र कार्यविधिसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट लिन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया