गौतमबुद्ध र पोखरा विमानस्थल अब 'आयोजना' होइनन्, 'राष्ट्रिय गौरवका संरचना' हुन्: मन्त्री पाण्डे

voiceofgandaki

काठमाडौं । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइसकेकाले अब ती राष्ट्रिय गौरवका आयोजना नभई ‘राष्ट्रिय गौरवका संरचना’ भएको बताएका छन् । उनले अब देशले यी तयार संरचनाबाट लाभ लिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले भने, "यी आयोजना निर्माण सम्पन्न भइसकेका छन्, अब देशले यिनलाई राष्ट्रिय गौरवका संरचनामा राख्दै फाइदा लिनुपर्छ ।"

उनले भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुमा हवाई रुटको समस्या मात्रै नभएको स्पष्ट पारे । सरकारकै कतिपय निकायले मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजना लागू नगर्दा पनि समस्या आएको उनको भनाइ छ ।

छलफलमा मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशका लागि अपरिहार्य भए पनि यसको निर्माणमा अन्योल कायमै रहेको स्वीकारे । सरकारले यसको निर्माण र सञ्चालनको उपयुक्त मोडालिटी तयार पारेर काम अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

यसैगरी, मन्त्री पाण्डेले पशुपति र लुम्बिनी विकास कोषका गुरुयोजना अनुसार कामलाई तीव्रता दिन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया