काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (आज) देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आउन ४४ दिन बाँकी रहँदा निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि नागरिकता अनिवार्य गरिएको जनाएको छ ।
आयोगका अनुसार उम्मेदवार बन्न चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ । साथै, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि अनिवार्य गरिएको छ ।
प्रस्तावक र समर्थक अनिवार्य
मनोनयन दर्ता गर्दा सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र अर्को एक जना समर्थक बस्नुपर्नेछ । दलको उम्मेदवारको हकमा पार्टीको आधिकारिक पदाधिकारीले प्रदान गरेको मनोनयन पत्र (टिकट) पेस गर्नुपर्नेछ ।
सरकारी सेवा वा राज्यको सुविधा लिने पदमा बहाल रहेका व्यक्तिले राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । यस्तै, पेस्की लिएको भए फर्छ्योट भएको र बेरुजु भए असुल उपर गरेको प्रमाण पनि पेस गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
धरौटी १० हजार, लक्षित वर्गलाई छुट
उम्मेदवारले मनोनयन पत्रसाथ १० हजार रुपैयाँ धरौटी राखेको रसिद बुझाउनुपर्नेछ । महिला, दलित, अल्पसंख्यक वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । विपन्नको हकमा स्थानीय तहको सिफारिस आवश्यक पर्नेछ ।
यसैगरी, उम्मेदवारले आफ्नो चल–अचल सम्पत्तिको विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ भने आयोगले तोकेको ढाँचामा स्वघोषणा पत्र पनि भर्नुपर्नेछ ।
७ माघ २०८२, मङ्गलबार ०५:२७ मा प्रकाशित