पोखरामा १३औँ क्यान इन्फोटेकको तयारी पूरा, सुरु हुनुअगावै सबै स्टल बुकिङ

voiceofgandaki

पोखरा।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका नवीनतम आविष्कारहरूलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यका साथ पोखरामा आयोजना हुन लागेको १३औँ क्यान इन्फोटेक २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा पोखरा–९, नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही मंसिर १७ देखि २१ गतेसम्म चल्ने मेलाका सबै स्टलहरू बुकिङ भइसकेका छन् । आयोजकका अनुसार सोमबार बेलुका ६ बजेसम्म नै मेलाका सम्पूर्ण स्टलहरू सफलतापूर्वक बुक भइसकेका हुन् ।

यस वर्षको प्रदर्शनीमा विश्वविख्यात डिजिटल सेक्युरिटी उत्पादक कम्पनी युएनभी (UNV) ले मुख्य शीर्षक प्रायोजकको भूमिका निर्वाह गरेको छ । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेलाकै परिसरमा क्यान इन्फोटेक सञ्चालन हुन लागेको हो । क्यान कास्कीका सचिव दामोदर ढुंगानाले यस बृहत् मेलाको महत्त्वपूर्ण अंशका रूपमा क्यान इन्फोटेकलाई उभ्याउँदा प्रविधि र उद्योग व्यापारबिचको अन्तरसम्बन्ध थप मजबुत बनेको बताए । प्रदर्शनी केन्द्रमा नयाँ संरचना निर्माण भइरहेकाले यसपटक सीमित संख्यामा मात्र स्टल राख्नुपरेको सचिव ढुंगानाले जानकारी दिए ।

मेलालाई थप ज्ञानवर्द्धक बनाउन विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू तय गरिएको छ । मंसिर १८ गते बिहान ११ः३० बजे ‘जेन जी तथा एआई’ लाई मुख्य विषयवस्तु बनाएर डिबेट कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै, २० गते आइसिटी र डिजिटल ट्रान्सफर्मेसनसम्बन्धी अन्तरक्रिया अर्थात् ‘टेक टक’ सञ्चालन हुने योजना रहेको आयोजकले जनाएका छन् । मेलामा क्यान महासंघका सदस्य संस्थाहरू लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको उत्पादन र सेवाहरूको प्रत्यक्ष प्रदर्शनी रहनेछ ।

मुख्य प्रायोजक युएनभी एक विश्वस्तरीय डिजिटल सेक्युरिटी कम्पनी हो, जसको नेपालका लागि आधिकारिक वितरक इगल टेक नेपाल रहेको छ । यस कम्पनीले नेपालभर २५० भन्दा बढी डिलर नेटवर्कमार्फत अत्याधुनिक सुरक्षा तथा अफिस अटोमेसन सामग्रीहरूको बिक्री–वितरण गर्दै आएको छ । प्रदर्शनीमा युएनभीले सिसीटिभी क्यामेरा, मोनिटर, स्टोरेज डिभाइस, रातमा पनि स्पष्ट दृश्य दिने आउल भ्यू आइपी क्यामेरा, युपिएस, स्मार्ट बोर्ड र नेटवर्क उपकरणहरू लगायतका डिजिटल सुरक्षाका अत्याधुनिक समाधानहरू प्रस्तुत गर्ने जानकारी दिएको छ ।

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले यस प्रदर्शनीलाई सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका लागि ‘ट्रान्सफर्मेसनल’ अवसरका रूपमा व्याख्या गरेका छन् । उनले यो इन्फोटेक केवल प्रदर्शनी मात्र नभएर प्रविधि प्रेमी, उपभोक्ता र व्यावसायिक निकायहरूका लागि एउटा जीवन्त मञ्च भएको बताए । यसले उपभोक्ताहरूलाई बजारमा आएका नवीनतम हार्डवेयर र सफ्टवेयरको प्रत्यक्ष अनुभव लिने मौका दिने अध्यक्ष कुँवरको भनाइ छ । सहभागी कम्पनीहरूका लागि यो एउटा शक्तिशाली प्लेटफर्म हुनेछ, जहाँ उनीहरूले आफ्ना उत्पादनहरूको बजार सर्वेक्षण गर्न, ग्राहकको अपेक्षा बुझ्न र दीर्घकालीन व्यावसायिक सम्बन्ध विस्तार गर्न सक्ने अध्यक्ष कुँवरले बताए ।

अवलोकनकर्ताहरूले व्यापार मेलाको परिसरमा स्थापित १३औँ क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी विविध स्टलहरूको अवलोकन गर्न पाउनेछन् । मेलाको प्रचारप्रसारमा पत्रकारहरूको सक्रिय एवं सकारात्मक सहभागिता रहने अपेक्षा पनि अध्यक्ष कुँवरले व्यक्त गरेका छन् ।

प्रतिक्रिया