चार सचिवको जिम्मेवारी हेरफेर : रक्षामा केदारनाथ, सामान्यमा चन्द्रकला
voiceofgandaki
११ मङ्सिर २०८२, बुधबार
काठमाडौं ।
सरकारले प्रशासन संयन्त्रमा हेरफेर गर्दै चारजना सचिवको सरुवा गरेको छ । संघीय सरकारदेखि प्रदेश सरकारसम्मका विशिष्ट श्रेणीका कर्मचारीको जिम्मेवारी बदलिएको हो । यो निर्णयसँगै रिक्त रहेको रक्षा मन्त्रालयको सचिव पदमा केदारनाथ शर्मा पुगेका छन् ।
तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव नियुक्त भएपछि रक्षा मन्त्रालय सचिवविहीन थियो । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शर्मालाई रक्षामा लगेको हो । शर्मा रक्षामा गएपछि खाली भएको भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी मदन भुजेलले पाएका छन् । भुजेल यसअघि मधेश प्रदेशको प्रमुख सचिव थिए ।
यस्तै कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ । सामान्य प्रशासनमा रहेका सचिव रविलाल पन्थलाई भने राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ । योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि त्यहाँ पद रिक्त भएको थियो ।