श्रमिकबाट उठेर वरपीपलको संरचनासम्म आइपुगेको हुँ, अराजक गिरोहको निशानामा परियो : जीतु गुरुङ

voiceofgandaki
जीतु गुरुङ

गत भाद्र २३ र २४ गते आयोजित जेन–जी (जेनेरेशन जेड) आन्दोलनका क्रममा ज्यान गुमाएका युवा योद्धाहरूप्रति यस बरपिपल रिसोर्ट परिवारको तर्फबाट हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। प्रियजन गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
तर दुर्भाग्यवश, आन्दोलनको नाममा आपराधिक मनोवृत्ति बोकेका घुसपैठ समूहले बरपिपल रिसोर्टसहित सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसले निजी क्षेत्रका उद्यमी तथा व्यवसायी मात्र होइन, सम्पूर्ण नेपालीहरूको मनोबलमा चोट पुर्याएको छ।
बरपिपल रिसोर्ट अत्याधुनिक पूर्वाधारयुक्त संरचना हो, जुन भिरालो जग्गामा सुन्दर डिजाइनसहित हाम्रो “ड्रिम प्रोजेक्ट”का रूपमा बैंकबाट ऋण लगानी गरि निर्माण गरिएको हो। यसले पोखराको पर्यटन प्रवर्द्धनमा योगदान गर्दै आएको छ, वार्षिक दुई करोड रुपैयाँ कर तिरेर राज्यलाई सहयोग पुर्याउँदै आएको छ, र रिसोर्ट/होटल/फार्म हाउस गरि करिब १२० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।
यसबीच “बरपिपल रिसोर्टमा माओवादी अध्यक्ष प्रचण्डको लगानी छ, त्यसैले जलाउनु पर्छ” भन्ने अफवाह फैलाइएको कुरा पनि बाहिरियो। यस्तो मिथ्या सूचना सर्वथा कपोलकलेपित, निराधार र नियोजित प्रपोगाण्डा हो। यस रिसोर्टमा मेरो र मेरो परिवारबाहेक कसैको एक रुपैयाँ पनि लगानी छैन। यदि कसैसँग प्रमाण छ भने देखाउन म खुला चुनौती दिन्छु। म कुनै राजनीतिक दलको कार्यकर्ता नभई शुद्ध पर्यटन व्यवसायी हुँ। त्यसैले यस्ता अनर्गल प्रचार नगर्न र भ्रम सिर्जना नगर्न म अनुरोध गर्दछु ।

तर भदौ २४ गते साँझ, स्वार्थप्रेरित आपराधिक गिरोहको घुसपैठका कारण रिसोर्टका ३ वटा पर्यटक बाहन, ३ वटा गेस्ट कार आगजनीमा परि क्षति भए। रिसोर्टको बार, स्पा, लबी, गेस्ट रुम लगायतमा आगजनी, तोडफोड र लुटपाट भयो। बारमा रहेको आयातित मदिरा लुटपाट र नगद चोरी, गेस्ट रुम तोडफोड र ज्यान जोगाउन गेस्टहरुको भागाभाग समेत भयो । यसले करोडौं मूल्य बराबरको क्षति र पोखरा/नेपाल पर्यटनकालागि असुरक्षित छ भन्ने सन्देश पुर्याएको छ ।

स्थानीयको सद्भाब, रिसोर्ट कर्मचारीको दृढता, साथीभाइ आफन्तको सहयोगले घुषपैठिया आन्दोलनकारीलाई मुश्किलले धपाउन सफल भईयो र थप क्षति हुन बाट यस रिसोर्टलाई जोगाउन सफल भइयो ।

म आज भन्दा ३० बर्ष अघि लमजुङको दोर्दी श्रीमन्ज्याङ गाउँबाट केवल १ हजार रुपैयाँ गोजीमा बोकेर पोखरा झरेको, ५०० रुपैयाँ मासिकमा “क्लिनिङ” काम गर्दै पोखरामा श्रमिकवजीवन सुरु गरेको, गाइड हुँदै होटल व्यवसायमा छिर्दै संघर्षको अनेक चरण व्यहोरेर आइसल्याण्ड गेस्ट हाउस र सिल्भर वोक्स इन संचालन गर्दै बरपिपल रिसोर्टसम्मको यात्रामामआईपुगेको व्यक्ति हुँ । म पटक पटक असफलता, ऋण, बिदेश जाने चक्करमा ठक्कर, एजेन्टबाट धोका, दरबार हत्याकाण्ड, माओबादी युद्धको बिषमता, जनआन्दोलनको असर, नाकाबन्दी, भुकम्प, कोभिडको कहर जस्ता चुनौतीबीच पनि उठ्ने आँट गरेर, श्रम, पसिना र सपनाको बलमा मैले यो रिसोर्ट ठड्याएको हुँ।

हिजो मलाई घर भाडा तिर्न, छोरा छोरीलाई के कसरी पाल्ने, पठनपाठन कसरी गर्ने होला? भनि चिन्ता हुन्थ्यो । तर बि स. २०६६ सालमा “सिल्भर वोक्स इन” संचालन गरेपछि मेरो भाग्य भनौं वा समयको देन त्यसपछि मैले परिवारले पछाडि फर्केर हेर्नु परेको छैन ।


“सिल्भर वोक्स इन” बाट कमाएको पैसा र बैंकबाट ऋणपान गरि आज भन्दा ७ बर्ष अघि पोखरा १८ मणिमार्गमा कसैको नजर नपरेको खण्डहर भिरालो जग्गा खरिद गरि राम्रो डिजाइन गरि बरपिपल रिसोर्ट स्थापना गरेको हुँ । यो मेरो मात्र होइन, मेरा सहकर्मी, मेरा कर्मचारी र पोखराको पर्यटनसँग गाँसिएको साझा सपना हो। यस बिषम परिश्थितिमा पनि कर्मचारीले परिबारका सदस्य झैं रिसोर्टलाई थप क्षतिबाट बचाउन निर्बाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै रिसोर्टमा जति क्षति र खति भए पनि, उनीहरुको जागीर र सेवा सुबिधाको निरन्तरताको प्रतिबद्दता ब्यक्त गर्दछु ।

आज यो सपना माथि आगो लगाइयो। तर, स्मरण रहोस्, “बरपिपल रिसोर्टमा भौतिक क्षति पुगेको हो, हाम्रो उत्साह र संकल्पमा होइन।”

यस आक्रमणको ठहर वास्तविक जेनजी आन्दोलनकारीको नभई आपराधिक गिरोहकै हो। त्यसैले निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कठोर कारबाही गर्न हामी स्थानीय प्रशासन र सरकारसँग माग गर्दछौं।
लाखौं जेन–जी युवाको बलिदानले आएको यो ऐतिहासिक परिवर्तनलाई सबैले आत्मसात् गर्दै भ्रष्टाचारमुक्त, स्थिर र शान्त नेपाल बनाउन सबै एकजुट हुन आवश्यक छ। अब कुनै पनि बहानामा कसैले आन्दोलन गर्नुपर्ने वा उद्यमी–व्यवसायीहरू त्रसित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने हाम्रो कामना छ।
यस कठिन परिस्थितिमा पनि हाम्रो कर्मचारीहरूको प्रतिबद्धता, शुभेच्छुकहरूको समर्थन र ग्राहकहरूको विश्वासकै आधारमा रिसोर्ट पुनः सञ्चालनमा ल्याइसकेको सगर्व जानकारी गराउँछु। हामी अझ गुणस्तरीय सेवा र उन्नत व्यवस्थापनसहित अघि बढ्ने छौं।
हामी लडेका थियौं, हिम्मत गरेर फेरि उठेका छौं।
उनीहरुले रिसोर्टका भौतिक संरचना ढालेका हुन् हाम्रा सपना र उत्साह हैनन् ।
त्यसैले हाम्रो यात्रा जारी छ,
खरानी र धुलो टक्टकाउदै, सतिसाल झैं ठडिदै …. ।
यहि संकल्प र प्रतिबद्दताकासाथ तपाईहरूको निरन्तर सद्भाव, समसाथ, समर्थन र आशीर्वादको अपेक्षा गर्दछौं ।
जितु गुरुङ
अध्यक्ष तथा प्रबन्ध निर्देशक
बरपिपल रिसोर्ट प्रा.लि., पोखरा

प्रतिक्रिया