तीन महिनाभित्र परीक्षाफल ननिकाले विश्वविद्यालयको अनुदान रोक्का हुने चेतावनी

voiceofgandaki

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएका छन् ।

मङ्गलबार सामाजिक सञ्जालमार्फत् तीनबुँदे निर्देशन जारी गर्दै मन्त्री पुनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर परिणाम प्रकाशित गर्न आठ महिना देखी एक वर्षसम्म ढिलाइ गर्ने प्रवृत्तिले विद्यार्थीलाई अपूरणीय क्षति पुगेको भन्दै तत्काल सुधार गर्न चेतावनी दिए ।

उनको निर्देशनमा भनिएको छ, “विश्वविद्यालयहरूले तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्नैपर्छ । समयमै ननिकाले अनुदान रोक्का गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्रै निकाल्दा विश्वविद्यालयले वर्ष दिन किन ढिलाइ गर्ने?”

मन्त्री पुनले नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले प्रत्येक विद्यालयमा कम्तीमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने आवश्यकता पनि औंल्याए ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा रहेको ठूलो झाडी फाँडेर (ठूला रुख नकटाई) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ निर्माण गर्न निर्देशन दिइएको जानकारी पनि मन्त्री पुनले सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया