पोखरा । पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डले सम्मानित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार पोखराको राष्ट्रिय सभा हलमा आयोजना गरेको स्पोट्र्स अवार्डको २२ औं संस्करणमा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गरे ।
पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । कराँतेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित भए । यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए ।
गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् । वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल भए ।
गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्ष सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारिन् । गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।
भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जिते । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन् । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गरे । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा थिए ।
पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते)लाई निराश बनाए ।
युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पूजा महतो घोषित भइन् । यो विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित भइन् । प्रभा पारा एथलेटिक्स खेलाडी हुन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् ।
अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भए । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन्, । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउनसमेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापितमात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा किर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक थिए ।
स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् । नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाईटिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेममा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।
बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोटर््जर्नलिस्ट अवार्ड प्राप्त गरे । वर्ष खेलाडी पुरुष÷महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही १ लाख प्रदान गरियो ।