बेलायती डिग्रीसहित पोखरामा ‘फिस्टेल माउन्टेन कलेज’ सञ्चालन, पढाइपछि रोजगारीको ग्यारेन्टी

voiceofgandaki

पोखरा । काठमाडौंमा केन्द्रित सूचना प्रविधि (आइटी) शिक्षालाई विकेन्द्रित गर्दै इन्नोभेटिभ नेपाल ग्रुप (आइएनजी) ले पर्यटकीय नगरी पोखरामा विश्वस्तरीय कलेज सञ्चालनमा ल्याएको छ। समूहले बेलायतको प्रतिष्ठित उल्भरह्याम्पटन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘फिस्टेल माउन्टेन कलेज’ स्थापना गरेको हो।

पोखरालाई आइटी हबका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा–१७, मुस्ताङचोकमा कलेज स्थापना गरिएको छ। यहाँ स्नातक तहमा सूचना प्रविधि र साइबर सुरक्षा विषयको पढाइ हुनेछ। अब पोखराका विद्यार्थीले उच्च शिक्षाका लागि विदेश वा काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने र घरमै बसेर बेलायती डिग्री हासिल गर्न पाउने समूहले जनाएको छ। मंगलबार ‘पोखराको नवयुग’ शीर्षकमा आयोजित कार्यक्रममा कलेजको औपचारिक घोषणा गर्दै आगामी शैक्षिक सत्रदेखि नै विद्यार्थी भर्ना लिने जानकारी दिइयो।

कलेजमा ३ वर्षे कोर्सको संरचना बेलायती मापदण्डअनुसार तय गरिएको छ। जसअनुसार विद्यार्थीले पहिलो वर्ष लेभल ४, दोस्रो वर्ष लेभल ५ र तेस्रो वर्ष लेभल ६ को अध्ययन गर्नेछन्। यो कोर्स पूरा गर्नका लागि विद्यार्थीलाई करिब ८ लाख रुपैयाँ शुल्क लाग्नेछ। पाठ्यक्रममा अहिलेका सर्वाधिक माग भएका विषयहरु आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेसिन लर्निङ, बिग डाटा र क्लाउड कम्प्युटिङ समेटिएको छ।

आइएनजी समूहका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले पोखरा अब पर्यटकीय सहर मात्र नभई प्रविधिको गन्तव्य पनि बन्ने बताए। उनले विद्यार्थीलाई पढाइसँगै रोजगारीको ग्यारेन्टीसमेत गरेका छन्। बुढाथोकीले भने, 'हामी जनशक्ति उत्पादन मात्र गर्दैनौं, उनीहरूलाई स्वदेशमै काम पनि दिलाउँछौं।' उनले १ वर्षभित्र पोखरामै कम्तीमा एउटा प्रविधि कम्पनी खोलेर विद्यार्थीलाई काम गर्ने वातावरण मिलाउने प्रतिबद्धता जनाए।

नेपालमा अन्तर्राष्ट्रिय शिक्षा भित्र्याउने श्रेय पाएको आइएनजीअन्तर्गतको ‘भैरव टेक’ ले पेरिस ओलम्पिक्स २०२४ मा साइबर सुरक्षा प्रदान गरेर आफ्नो क्षमता पुष्टि गरिसकेको छ। सोही अनुभवका आधारमा पोखरामा पनि ‘ग्लोबल एआई टिम’ निर्माण गर्ने र नेपाली इन्जिनियरलाई ठूला विदेशी परियोजनामा जोड्ने योजना समूहको छ। साथै, बेलायतमा दर्ता भएको नयाँ साइबर सुरक्षा कम्पनी सञ्चालनमा ल्याई त्यसको नेतृत्व भैरव टेकका सदस्यहरुबाटै गराउने तयारी गरिएको छ।

कलेजका गतिविधिले काठमाडौंको आइटी इकोसिस्टम पोखरामा सर्ने विश्वास समूहका उपाध्यक्ष प्रकाश श्रेष्ठले व्यक्त गरे। उनले चाँडै भर्ना प्रक्रिया सुरु हुने जानकारी दिँदै यहाँबाट उत्पादित जनशक्ति एआई इन्जिनियर, मेसिन विज्ञ, सिस्टम डेभलपर तथा सफ्टवेयर आर्किटेक्टका रूपमा बजारमा आउने बताए। कलेजले नयाँ लोगो सार्वजनिक गर्दै आफूलाई ‘सुपर फोकस्ड’ आइटी कलेजका रूपमा चिनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया