पोखरा ।
पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयमा सञ्चालित शैक्षिक सुधार कार्यक्रमले नतिजा दिन थालेको छ । प्रारम्भिक बालविकास (इसिडी) देखि आधारभूत तहसम्मको शैक्षिक गुणस्तर उकास्न ‘इनोभेसन इन एजुकेसन’ (इसीइसी) ले थालेको पहल प्रभावकारी देखिएको हो ।
महानगरका विभिन्न १२ वटा विद्यालयमा २०७९ सालदेखि नमुना विद्यालय विकास कार्यक्रम लागु छ । गत आइतबार आयोजित समीक्षा कार्यक्रममा सहभागीले परियोजना लागु भएपछि विद्यालयको शैक्षिक वातावरणमा सुधार आएको निष्कर्ष निकालेका छन् ।
परियोजना अन्तर्गत शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनलाई जोडेर काम भइरहेको छ । यस वर्ष कक्षा ६ देखि ८ सम्मका शिक्षकका लागि गणित र विज्ञान विषयको विशेष तालिम सञ्चालन गरिएको थियो । यस्तै कक्षाकोठामा नेपाली र अंग्रेजी ‘फोनेक्स’, व्यवहार व्यवस्थापन कार्यशाला तथा प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म शैक्षिक सामग्री र विधिमा सहयोग गरिएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परियोजना सञ्चालन भएका विद्यालयको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन देखिएको बताए । महानगरको शिक्षा समितिका पदाधिकारीले पनि सुधारको प्रारम्भिक चरणमै कार्यक्रमको प्रभाव राम्रो देखिएको प्रतिक्रिया दिए ।
कार्यक्रममा इसीइसीका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले प्रभावकारी नेतृत्व, टिम लिडरको भूमिका र अधिकारबारे जानकारी गराएका थिए । सन् २००१ मा स्थापना भएको इसीइसीले देशभरका सरकारी तथा निजी विद्यालयसँग सहकार्य गर्दै आएको उनले बताए ।
सो अवसरमा परियोजना इन्चार्ज विजय तामाङले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । परियोजनाले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिलाई नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय बालविकास सहजकर्तासम्बन्धी प्रशिक्षणसमेत दिँदै आएको छ ।
१५ मङ्सिर २०८२, आईतबार ०५:३७ मा प्रकाशित