पोखरा २६ का विद्यालयमा बुक फ्री डे

voiceofgandaki

लेखनाथ ।

पोखरा महानगरपालिका वडा नम्बर २६ ले तीनवटा सामुदायिक विद्यालयमा बिहीबारदेखि ‘बुक फ्री डे’ कार्यक्रम सुरु गरेको छ । वडाका रामज्योति सक्नेरी, भवानी कालिका विजयपुर र लक्ष्मी माध्यमिक विद्यालय अर्घौमा यो कार्यक्रम सुरु भएको हो । 

‘बुक फ्री डे’ को सुरुआत गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयका विद्यार्थीलाई हप्तामा एक दिन व्यवहारिक ज्ञान र सीपमूलक तालिम दिइने बताए । ‘यो कार्यक्रममार्फत विद्यार्थीलाई एक दिन किताबको बोझबाट मुक्त राखेर सिर्जनशील बनाउने उद्देश्य राखिएको छ,’ उनले स्पष्ट पारे ।

विद्यार्थीलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, व्यवस्थापन, मोबाइल र ल्यापटप मर्मत, प्लम्बिङ र हाउस वायरिङजस्ता सीप सिकाइने अध्यक्ष थापाले बताए । ‘घरमा सामान्य धारा वा बिजुली बिग्रँदा बाहिर जनशक्ति खोज्नुपर्ने बाध्यताको अन्त्य गर्न विद्यार्थीहरू सफल हुने विश्वास छ,’ उनले भने । 

कार्यक्रममा वडा सदस्यहरू लक्ष्मी भट्टराई, सुजाता बराल सुनार, रामज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापा, भवानी कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा, वडा नम्बर २६ का सूचना अधिकारी नवराज सापकोटा र सहयोगी संस्था आकारका इन्जिनियर सन्दीप पौडेलले ‘बुक फ्री डे’ बारे बोलेका थिए । 

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । तीन सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का झन्डै दुई सय पचास विद्यार्थी यो कार्यक्रममा सहभागी हुनेछन् । 


प्रतिक्रिया