पोखरा ।
पोखराको प्रतिष्ठित शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा राजेन्द्र पहारी निर्वाचित भएका छन् । क्याम्पसको आगामी कार्यकाल (२०८२–२०८५) को नेतृत्वका लागि भएको निर्वाचनमा पहारीले २ सय ७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा पहारीका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद बरालले १ सय ७३ मत प्राप्त गरे । नवनिर्वाचित अध्यक्ष पहारी यसअघि क्याम्पसको सिनेट सदस्य तथा पूर्व कोषाध्यक्षको रूपमा कार्यरत थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता बोधराज बरालका अनुसार अध्यक्ष पदमा कुल ३ सय ८६ मत खसेकोमा ६ मत बदर भएको थियो ।
जनप्रियको गौरवमय शैक्षिक इतिहास
पोखरा–८, सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पस नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसहरूमध्ये एक हो । वि.सं. २०४८ सालमा स्थानीय शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरूको सक्रियतामा यस क्याम्पसको स्थापना भएको हो । गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाउने उद्देश्यले स्थापित जनप्रियले छोटो समयमै शैक्षिक क्षेत्रमा फड्को मार्न सफल भएको छ ।
सुरुवाती चरणमा सीमित स्रोत र साधनबाट सुरु भएको यो क्याम्पस हाल विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त संस्था हो । यहाँ व्यवस्थापन, मानविकी र विज्ञान संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरू सञ्चालनमा छन् । देशकै नमुना सामुदायिक क्याम्पसको छवि बनाएको जनप्रियले व्यावहारिक र समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ ।
सञ्चालक समितिमा ११ सदस्य निर्वाचित
क्याम्पसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सञ्चालक समिति सदस्यमा ११ जना निर्वाचित भएका छन् । सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचित सदस्यहरूमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरिराज चालिसे, इन्द्रप्रसाद पौडेल, इन्जिनियर शारदामोहन काफ्ले, राधिका रेग्मी सिग्देल, विश्वकुमार बिजुक्छे र पदमबन्धु पोखरेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष पहारीले जनप्रियको यो गौरवमय इतिहासलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले क्याम्पसको समृद्धि, सुशासन र शैक्षिक उत्कृष्टताका लागि आफू पूर्ण रूपमा समर्पित भएर लाग्ने बताए ।
२८ मङ्सिर २०८२, शनिवार ०४:३३ मा प्रकाशित